सोमबार , अषोज ११, २०७८

प्रकृति संरक्षणामानै मानव सभ्यता – रमेश थापा

कार्तिक ५, २०७७ बुधबार 48

प्रकृति संरक्षणामानै मानव सभ्यता – रमेश थापा

हरेक मान्छेलाइ सबै भन्दा ठूलो डर मृत्युको हुँदोरहेछ । जन्म र मृत्यु यस्तो घटना हो जो जीवनमा एक पटक मात्र हुन्छ र कुनै पनि सर्तमा दोहोरिंदैन । जन्ममा नया साथ प्राप्त हुन्छ भने मृत्युले सदाका लागि साथ छोडाउछ । जन्म र मृत्यु सृष्टिको एउटा यस्तो प्रकृया हो जो जन्मेपछि मर्नै पर्ने शाश्वत सत्यतामा आधारित छ । मानिसको जन्म हुनु भन्दा अगाडी देखिनै एक किसिमको उत्साह, उमंग, खुसी र जन्मिने दिनको आंकलन समेत हुने गर्दछ । तर मृत्यु खबरै नगरिकन आउने एउटा डरलाग्दो सबै भन्दा दुखःद घटना हो । आज हरेक जिउँदा मानिसहरु बिश्वब्यापि रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणबाट लाग्ने कोभिड १९ नामको महाब्याधिको संक्रमणबाट हुनसक्ने मृत्युसंग डराएर थुरथुर कापिरहेका छन । किनकि यो जीवाणु अत्यन्त निर्दयी छ । यसले धनि, गरिब, गोरा, काला, होचा, अग्ला, वृध्द, बालक, महिला, पुरुष, जात, धर्म, लिङ्ग केहि नछुट्याइकन आक्रमण गर्दछ र बढि भन्दा बढि क्षति गरेर छोड्छ । यसलाई कुनै धर्म, पैसा र सक्तिले रोक्न छेक्न सकेको छैन । यस कारण संसारले कोरोनाको संक्रमणबाट बच्नका लागि अनेकौं उपायहरु अवलम्वन गरिरहेको छ । कतिपय मानिसहरु घर भित्र बन्दि बनेर बसेका छन भने घर बाहिर निस्केकाहरु पनि डर र त्रासका कारण भौतिक दुरी कायम गरेर, नाक मुख ढाकेर अनि ब्यक्तिगत सरसफाइ गरी आफु सुरक्षित रहन प्रयासरत छन । अचम्म त के छ भने कोरोना प्राकृतिक रुपमा आफै उत्पन्न भएको जीवाणु हो वा मानिसले जानाजान कुनै खोजका लागि निर्माण गरेको जैविक या रसायनिक हतियार हो भन्नेमा पनि बिश्व दुइ ध्रुवमा बाँडिएर आरोप, प्रत्यारोपमा अल्झिएको थियो । तर पछिल्लो चरणमा यो पशुबाट मानिसमा सरेको जीवाणु हो भन्ने मान्यताका साथ यसको उपचारका लागि अनेकौं परिक्षण र प्रयासहरु अगाडी बढेका छन । आफ्नो देशमा दुइलाख मानिस मरिसक्दा पनि कोरोना केहि होइन भनेर हल्काफुल्का टिपप्णीमा रमाउने अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प आँफै संक्रमित भएपछि मात्र ठण्डा भएका छन ।

बैज्ञानिकहरुको भनाइ अनुसार संसारमा ७५ प्रतिसत संक्रमित रोग जनावरबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० देखि २०१३ सम्म २१५ वटा महामारी फैलिएका थिए र यसबाट साढे चार करोड भन्दा बढि मानिस संक्रमित भएका थिए । ति मध्ये ६० प्रतिसत भन्दा बढि रोग उत्पतिको स्रोत जनावर थिए । नोवेल कोरोना भन्ने जीवाणु पनि जनावरबाट मानिसमा सरेको बिश्वास गरिएको छ । संसारको सबै भन्दा बिकसित, बिद्वान र चतुर प्राणी भनिएको मानिसले प्रकृति संग गरेको बेइमानी र बद्मासिका कारण मानिसले नै अनेकौं पीडा भोग्नु परिरहेको छ । प्रकृति माताले पृथ्वीमा रहेका सबै प्राणीलाई आफ्नो जीवनचक्र चलाउन र अस्तित्व रक्षा गर्नका लागि आवश्यक पर्ने खाना, वासस्थान, जीनवशैली र सुरक्षा प्रदान गरेकी छन । तर अन्य सबै प्राणिहरुको अस्तित्वमा संकट आउने गरी मानिसले प्रकृतिमाथि नै घात गरेर प्रकृतिको अति दोहन गर्न थालेपछि प्राकृतिक सन्तुलन बिग्रिंदै गएको छ । मानिसले आफ्नो स्वार्थका लागि प्रतेक बर्ष ७० हजार वर्ग किलोमिटर वनक्षेत्र बिनास गरिरहेको छ । जसका कारण बर्षेनी १ करोड ३० लाख हेक्टर जमिन उजाड बन्ने गरेको छ । वन जंगल मासिदै गएपछि वनमा आश्रीत जनावरहरु मानव बस्ति नजिक पुग्ने, मानिसले लगाएको खेतिमा चरिचरन गर्ने, घरपालुवा जनवावरको संसर्गमा आउने गरेका छन भने मानिसहरु पनि जंगली जनावरको शिकार गर्ने, तिनीहरुको मासु खाने र शरीरका अन्य अङ्गहरु समेत प्रयोग गर्न थालेको हुँदा ती जनावरमा रहेका घातक जीवाणुहरु सजिलै मानिसमा सर्ने अवसर पाएका छन ।

कोरोनाको डरले मानिसहरु घरमा बन्दि बनेको समयमा युरोप, अमेरीका, एशिया र अफ्रिकाका कतिपय शहरका सडकहरुमा वन्यजन्तु निस्फिक्रि बिचरण गरेका दृश्यहरु संचार माध्यमहरुले प्रशारण गरेका थिए । कसै कसैले त कोरोनाका कारण सुनसान सडक, धुवाधुलो र प्रदुषण न्युनिकरण हुनाले वन्यजिवहरु शहरमा पनि बिचरण गर्न थालेको हुँदा कोरोनालाई प्रकृतिको जैवीक निरन्तरताको सारथीको रुपमा पनि चित्रण गरेको पाइन्छ । हुन पनि मानिसहरु झ्याल, ढोका थुनेर घरमा बन्दि बनेको बेला वन्यजन्तुहरु शहर पसेर मानिसहरुलाइ चियाउनु कम आश्चर्यको बिषय होइन । बर्षौं बर्षसम्म मानिसहरु घर बाहिर निस्कन नसक्ने अवस्था आयो भने पुरै शहर वनजंगलमा परिणत हुने र शहर वन्यजन्तुको वासस्थानमा परिणत भयो भने के होला ? वन्यजन्तुका प्राकृतिक वासस्थान मानिसले अतिक्रमण गरिदिनाले यो पृथ्वीबाट असंख्य प्राणी लोप भैसकेका छन, कति लोप हुने खतराको सूचीमा रहेका छन । यो धर्तीबाट एकपटक लोप भैसकेको प्रजाति फेरी पृथ्वीमा फर्केर आउदैन । बिभिन्न प्राणी लोप हुने क्रममा भोली हामी मानव जाति पनि यो पृथ्वीबाट लोप हुने दिन नआउला भन्न सकिने अवस्था छैन । हामी आफु पनि बाँच्न र हाम्रो मानव सभ्यतालाई युगौंयुग सम्म निरन्तरता दिनका लागि प्रकृतिलाइ जोगाएर राख्नुको बिकल्प छैन । प्रकृतिको अति दोहनका कारण प्राकृतिक वातावरण जति जति बिग्रदै जान्छ त्यति नै बढी प्राकृतिक प्रकोपको खतरा पनि बढ्दै जान्छ । बाढी, पहिरो, भू-क्षय, अतिबृष्टि, खडेरी आदी सबै प्रकृति अति दोहनको बदला प्रकृतिले दिने सजाय हुन । जो हामीले बर्षेनी भोग्दै आएका छौं ।

हामीले आस्था राख्ने र सम्मानसाथ पूजा गर्ने देबी देवताले बास गरेको हाम्रो हिमालय पर्वत, देबिदेवता बिचरण गर्ने वनजंगल, देबिदेवताले भोजन गर्ने फलफुलका बोट अनि स्नान गर्ने नदी, ताल, पोखरीहरु मानविय व्यवहारका कारण बिनास, दुषित र प्रदुषित भएका छन । पृथ्वीका अन्य प्राणीहरु प्रकृतिले दिएका कुरामा चित्त बुझाएर आफ्नो अस्तित्व बचाउन प्रयासरत छन । तर मानिसलाई अस्ति्त्व निरन्तरताका लागि प्रकृतिले दिएका कुरामा चित्त बुझेको छैन । उ अन्य जीव जन्तुको वासस्थान, आहारा खोस्दै आफ्नो अधिपत्य कायम गर्नका लागि निरिह जीवजन्तुको हत्या र दमनमा उत्रिएको छ । प्रकृति माताको अति दोहन गरेर मानिस आफैले आफुलाइ संकट निम्त्याइरहेको छ ।