बिहीबार राती भेरी अस्पतालमा के भएको थियो ? हामफालेर ज्यान जोगाएकी नर्सको बयान ( भिडियो सहित )

काठमाडौं – मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन । कुरुवाले मेरो बिरामीलाई मार्ने भयो भन्दै चिकित्सक तथा नर्सहरुलाई टर्चर दिइरहनु भएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै उनले धम्की दिइरहेका थिए ।

 

अन डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु उनकै बिरामीको उपचारमा ब्यस्त थिए । उनलाई बचाउन सबै प्रयास जारी राखेका थियौं । तर पनि हामीले बचाउन सकेनौं । उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्कँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

 

एक्कासी ६र७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर उनीहरुबाट बलतल्ल छुटाउन सफल भए । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन । क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal