देउवा मौन किन छन् ? यस्तो छ रहस्यमय कारण

काठमाडौँ

चैत्र

सत्ता राजनीतिका भेट्रान मानिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनतालाई रहस्यमय रुपमा हेर्न थालिएको छ ।

वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार बनाउन तीव्र दौडधुप चलिरहेका बेला देउवा भने शान्त छन् ।

पछिल्लो समय नेपाली राजतीतिमा उथलपुथल हुँदा समेत देउवा मौन रहनुले पार्टी भित्रैका नेताहरुले उनीमाथि विभिन्न आरोप लगाउन थालेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाए ।

प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा आयोजना गरेका एक कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा देउवा जिम्मेबार रहेको दावी गरे ।

‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ, हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ’, उनले भने । उनले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको बताए ।

नेता पौडेलले अहिलेको समयमा कांग्रेसले ठोस निर्णय नगरेर मौन बसे राष्ट्रको मूल राजनीतिमा भूमिका नदेखिने बताए ।

उनले भने, ‘अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन, दायित्व पूरा गरेको ठहर्दैन । यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन ।’

उनले आफूले सभापति देउवालाई फोन गरेरै ओलीइतर पक्षसँग गठबन्धन गरेर सरकार ढाल्न आग्रह गरेको बताए । तर, देउवाले त्यो काम अहिलेसम्म सुरु गरेका छैनन् ।

उनले जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री ओलीले दिएको आश्वासन आफूहरुले पूरा गर्न सक्ने गरी गठबन्धन गर्न देउवालाई आग्रह गरेको पनि सुनाए ।

प्रधानमन्त्रीको अफर आउँदा पनि अनिर्णित

देउवालाई तत्कालिन नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले

प्रधानमन्त्रीको प्रस्ताव लिएर पटक पटक बुढानिलकण्ठ नै पुगे । तर, देउवाले हुन्छ या हुँदैन दुवै भनेनन् । उनी पर्ख र हेरको रणनीतिमा रहे ।

देउवाको अलमलबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मैदानमा आफ्नो खेल खेलिरहे ।

अहिले पनि देउवालाई प्रचण्ड र राष्ट्रिय जनता पार्टी (राजपा)का शिर्ष नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । तर, उनी अझै अलमलमा रहेको बुझिएको छ ।

देउवाको अलमलबीच ओलीले राजपासँग मिलेर सरकार बनाउन खोजिरहेका छन् । उनले राजपाको समर्थनमा सरकार बनाउन खोजेपनि सफल भइहाल्ने सम्भावना कमजोर छ । राजपा आफै सरकारको नेतृत्वको विकल्पसहित अघि बढेको छ ।

देउवाले पटक पटकको प्रस्तावमा अलमल गर्दा राजपालाई फाइदा पुग्दै गएको छ । निर्णायक शक्ति नै राजपा बनेको छ ।

राजपालाई देउवाले सरकारको नेतृत्व गर्न सहयोग गरेमा प्रचण्ड पनि सहमत बन्ने देखिएका छन् । तैपनि, देउवा अनिर्णित छन् ।

ओलीसँगको देउवाको भित्री समिकरण अझै नटुटेको कतिपयको बुझाई छ । यसकारण पनि उनी अनिर्णित छन् ।

अर्को महत्वपूर्ण विषय देउवा आफै सरकारको नेतृत्वका लागि बढ्न खोजेको बुझिएको छ । श्रोतका अनुसार देउवा त्यसमा यताउता नहोस् भन्नेमा उनी सजग देखिएका छन् ।

सरकारको नेतृत्व पाउन देउवालाई काँग्रेसभित्र एकमत बनेर माओवादी केन्द्र र राजपाको पूर्ण समर्थन आवश्यक छ । कि त देउवाले नेकपा एमालेको साथ पाउनुपर्छ ।

तर, काँग्रेसभित्र ओलीसँग समिकरण बनाउन नहुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आवाज उठाउँदै आएको छ ।

पौडल समूह भने माओवादी केन्द्रलाई साथमा लिएर ओली सरकार ढाल्ने प्रयासमा छ । यसले पनि देउवामाथि चुनौती बढेको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal