बुधबार , कार्तिक ३, २०७८

राष्ट्रपतिको स’ क्रियतापछि यसरी जुर्न पुग्यो ओली-नेपाल भेटवार्ता

चैत्र २, २०७७ सोमबार 42

राष्ट्रपतिको स’ क्रियतापछि यसरी जुर्न पुग्यो ओली-नेपाल भेटवार्ता

काठमाडौँ

चैत्र २

झन्डै चार महिनादेखि ओली र माधव नेपालबीच संवादहिनताको अवस्था थियो । दुई नेताबीच बोलचाल नै बन्द थियो ।

सर्वोच्च अदालतले एमाले ब्युँत्याइदिएपछि भने ओली र नेपालबीच संवाद हुन सकेको थिएन ।

उल्टै अध्यक्ष ओली नेपाल पक्षलाई पेलेर जाने मुडमा देखिए र २८ फागुनमा एकपक्षीय केन्द्रीय कमिटी बैठक बसेर २३ जना केन्द्रीय सदस्यमा मनोनीत, विधान संशोधन, कार्यविभाजन हेरफेरलगायतका महत्वपूर्ण निर्णय गरे ।

त्यसको प्रतिवादमा नेपाल पक्षले समानान्तर कमिटी मात्रै बनाएन, ४-५ चैतका लागि राष्ट्रिय कार्यकर्ता भेलासमेत डाक्यो ।

त्यसपछि अध्यक्ष ओली नेपालसहित ११ जना नेतालाई कारबाही गर्ने तयारीमा समेत लागे ।

ओलीले सार्वजनिक कार्यक्रममै बैठकमा नआए विधानअनुसार हुँदै जाने भनेर कारबाहीको चेतावनी दिएका थिए ।

कार्यकर्ता भेलालाई प्रभावित बनाउने गरी ओलीले ३ चैतका लागि ११ बजे केन्द्रीय सदस्यहरूलाई चियापानका लागि बालुवाटार निम्ता गरेका थिए ।

ओली अहिले नेपाल पक्षको ४-५ चैतको कार्यकर्ता भेला रोक्न चाहन्छन् । त्यहीबीचमा कांग्रेस, माओवादी र जसपाबीच मोर्चाबन्दी कसिलो बन्न थालेको थियो ।

कसिलो बन्दै गएको मोर्चाबन्दीले प्रधानमन्त्रीबाट ओलीलाई बिदा गर्ने सम्भावना मात्र बढेको थिएन, पार्टीभित्रका समानान्तर गतिविधिले एमाले विभाजनको संकेत देखिन थालेको थियो ।

एकातिर प्रधानमन्त्री गुमाउने अर्कातिर पार्टी फुट्ने दुवै खतरा ओलीका सामुन्नेमा देखिएका थिए ।

त्यही महसुस गरेपछि ओली अहिले नेता नेपाल पक्षसँग संवाद गरेर समस्या समाधान गर्ने प्रयासमा लागेको देखिन्छ ।

त्यसका लागि समेत राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका रहेकाे छ ।

हिजो साँझ मात्र राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेरै माधव नेपाललाई फकाउन सुझाव दिएकी थिइन् ।

एमालेका स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसहित तीन जनासँगै छलफल गर्ने गरी माधव नेपाललाई सन्देश पठाएकी थिइन् ।

तर, नेता नेपालले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र आफूबीच हुने छलफलमा सहभागी नहुने सन्देश राष्ट्रपतिलाई पठाएका थिए ।

एक्ला-एक्लै भेट्न सकिने तर तीन जना संयुक्त रुपमा भने नभेट्ने नेता नेपालको अडानपछि अध्यक्ष ओली एक्लै नेता नेपालसँग भेट्न राजी भएका हुन् ।

हिजै उपमहासचिव विष्णु पौडेलले सचिव योगेश भट्टराईलाई फोन गरेका थिए ।

पार्टीमा समस्या देखिएको भन्दै चिन्तित मुद्रामा पौडेलले नेता भट्टराईसँग सबै बिग्रियो त भन्दै फोन गरेका थिए । भट्टराईले अध्यक्ष ओलीकै कारण सबै बिग्रिएको जवाफ फर्काएका थिए ।