नेपाल कम्युनिस्ट पार्टी कहिले कुन दर्ता भए ? कहाँ छन् केन्द्रीय कार्यालय ? यस्तो छ नालिबेडि

काठमाडौं

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वैधानिकता दिएसँगै तीन वर्षदेखि भएको वाम एकता भाँडिएको छ ।

सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक अलगअलग राजनीतिक दल साबिककै अवस्थामा कायम हुने आदेश जारी गरेको छ ।

नेकपा नामको विवादमा अदालतले गरेको फैसलाले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

यसको कारण हो, निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामका दल दर्ता भइसकेको हुनु ।

अर्को कारण हो, एकता भाँडिने गरी अदालतको फैसला आउनु । सर्वोच्चको निर्णयले पार्टी एकता तोडिएको छ भने नेपाल कम्युनिस्ट पार्टी नामक दल निर्माण गर्ने अर्को बाटो पनि छैन ।

निर्वाचन आयोगमा यसअघि नै ८ वटा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको देखिन्छ ।

विसं २०७५ जेठ २३ गते नेपालकै ठूलो दलको रुपमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता हुनुअघि नै ४ वटा मात्र नेपाल कम्युनिस्ट पार्टी थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता भइसकेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी नाम भएका केही दल भने खारेज पनि भइसकेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दर्ता गराउन खोजिएको थियो ।

तर, नाम जुध्ने भन्दै ने, क र पा बीचमा स्पेस राखेर दल दर्ता गरिएको थियो ।

लगत्तै कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हाले । उनले हालेको रिटमा आफ्नो दल र दर्ता भएको नयाँ दलको मूल नाम र

छोटकरी नाम एकै रहेको तथा उस्तै सुनिने भएकाले नयाँ दल दर्ता वदर गर्ने फैसला गरिदिन माग गरिएको थियो ।

केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको दललाई आयोगले वैधानिकता दिइसकेपछि पनि नेपाल कम्युनिस्ट पार्टी नामका थप ३ दल दर्ता भएका देखिन्छन् ।

ती हुन्- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ।

कुन नेपाल कम्युनिस्ट पार्टी कहिले दर्ता भए ? कहाँ छन् केन्द्रीय कार्यालय ?

नेपाल कम्युनिस्ट पार्टी (माले) – २०७३ मंसिर ८, रातोपुल काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) – २०७३ मंसिर ८, टोखा काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी – २०७३ मंसिर ८, धोबिधारा काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी – २०७३ मंसिर ८, कोटेश्वर काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) – २०७५ जेठ २३, धुम्बाराही काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) – २०७६ भदौ १५, गौशला काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – २०७६ भदौ १५, बूढानीलकण्ठ काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – २०७७ साउन २०, नयाँ बानेश्वर काठमाडौं

आयोगको असोज ७ गते अद्यावधिक दर्ता कायम रहेका राजनीतिक दलहरूको विवरणअनुसार नेपालमा १३२ दल छन् । हालसम्म १६० दलले दल दर्ता नम्बर पाएकामा बाँकी दल खारेज भएका छन् ।

आयोगमा छैन विप्लव र वैद्यको कम्युनिस्ट पार्टी

निर्वाचन आयोगको दल सूचीमा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ का कम्युनिस्ट पार्टी छैनन् ।

विप्लवले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी र किरणको दल नेकपा-क्रान्तिकारी माओवादी रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal