सर्वाेच्चको फैसलाले एमाले र माओवादी ब्यूतियो, एकीकरण नै बदर (पढ्नुहोस् पूर्णपाठ
काठमाडौं
फागुन २३
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा एकीकरण प्रक्रियालाई नै सर्वाेच्च अदालतले बदर गरिदिएको छ ।
सर्वाेच्च अदालतले आज आईतबार सुनाएको फैसलापछि अब तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूतिएका छन् ।
दुबै पार्टी एकीकरण हुने भए सुरुबाटै पुन एकीकरण प्रक्रियामा जानुपर्ने भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वाेच्च अदालतले आईतबार फैसला सुनाउँदै खारेज गरेको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आईतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा निवेदक दिइएको थियो ।
निर्वाचन आयोगले नेकपालाई मान्यता दिएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै ओली र प्रचण्डको नेकपा नाम खारेज भएको छ ।