भारत १० विकेटले विजयी

एजेन्सी

इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर रोहित शर्मा २५ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

सुभमन गिल २१ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । पहिलो दिन १३ विकेट पतन हुँदा दोस्रो दिन १७ विकेट गुमेको थियो ।

भारतले दोस्रो दिनमै सहज जित हात पार्दै टेष्ट च्याम्पियनसिफको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अन्तिम खेलको नतिजाले निर्धारण गर्ने छ ।

इंग्ल्यान्ड दोस्रो इनिङमा ३०.४ ओभरमा ८१ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रनको योगदान दिए ।

स्टोक्सले ३४ बलमा ३ चौका प्रहार गरे । जो रुट १९ र ओली पोप १२ रनमा आउट भए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ओभरमै ओपनर ज्याक क्रली र जोनी बेयरस्टो शून्यमा आउट भएका थिए । डोम सिब्ले ७, बेन फोक्स ८, ज्याक लेच ९ र जोफ्रा आर्चर शून्य मा आउट भए । भारतका स्पिनर अक्षर पटेलले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए ।

भारत दोस्रो दिनमै पहिलो इनिङमा ५३.२ ओभरमा १ सय ४५ रनमा अल आउट हुँदै ३३ रनको अग्रता लिएको थियो । भारतका रोहित शर्माले सर्वाधिक ६६ रनको योगदान दिए । रोहितले ९६ बलमा ११ चौका प्रहार गरे ।

सुभमन गिल ११, विराट कोहली २७ र आश्विन १७ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका कप्तान जो रुटले ५ र ज्याक लेचले ४ विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो सेसनमा नै १ सय १२ रनमा अलआउट भएको थियो ।

तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए ।

छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए ।

तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे ।

कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।

त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए ।

जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोक्स १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ सय १७ रनले पराजित भएको थियो । चौथो तथा अन्तिम टेष्ट खेल ४ मार्चदेखि सुरु हुने छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal