केपी ओलीविरुद्ध यस कारणले आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी
काठमाडौं
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई
बर्खास्त गरेर राजेश झालाई नियुक्त गरेपछि प्रदेश सरकार असन्तुष्ट बनेको छ ।
२ नम्बर प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख बर्खास्तीको निर्णयलाई प्रतिगमन र निरंकुश बताउँदै सच्याउन माग गरेको छ ।
प्रदेश प्रमुख बर्खास्तीको निर्णय प्रतिगमन हो । निरंकुशताको प्रमाण हो । यो कदमको हामी भर्त्सना गर्छौं उनले भने ।
विभेदरहित प्रदेश बनाउने योजनामा संघीय सरकार बाधक बनेको आरोप लगाउँदै उनले भने वर्षौंदेखि पिछडिएको समुदायलाई हरेक क्षेत्रमा सहभागी गराउँदै अघि बढेका छौं ।
तर त्यही समुदायबाट आएका प्रमुखलाई विना कारण हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाइएको छ, यो हामीलाई कदापि स्वीकार्य छैन ।
प्रदेश प्रमुख परियारलाई यथावत् राख्नुपर्ने माग प्रदेश सरकारको रहेको प्रवक्ता यादवले बताए ।
अन्यथा प्रधानमन्त्री केपी ओलीविरुद्ध आन्दोलनमा जाने चेतावनी समेत यादवले दिएका छन् ।
उहाँलाई यथावत् राख्नुपर्छ, त्यसका लागि हामी पहिलो चरणमा संघीय सरकारसँग समन्वय गर्नेछौं र नमाने प्रधानमन्त्रीविरुद्ध प्रदेश सरकारले आन्दोलन थाल्ने छ ।