सोमबार , कार्तिक १, २०७८

माझीबस्ती : यथार्थ र भ्रम

माघ ३०, २०७७ शुक्रबार 47

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केही दिनहरूमा निर्माणाधीन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केही मिडियामार्फत भ्रामक समाचारहरू सम्प्रेषण भईरहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ती भ्रामक समाचारहरूसंगै माझी बस्तीका केही व्यक्तिहरूसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरू सम्प्रेषित भइरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरूको सत्यता र यथार्थतालाई यहाँहरू सामु स्पष्ट पार्न चाहन्छु ।

३ वर्ष अगाडि माझी बस्ती निर्माणको लागि अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने साहस गरिरहँदा त्यो बेलामा मेरो अगाडि र पछाडि मलाई सहयोग गर्नेहरूको लर्को थिएन नत मसंग प्रशस्त धन नै थियो । थियो त केवल आत्मविश्वास अनि साहस ।

क्षतविक्षत भएको माझी बस्तीलाई सम्बन्धित सरकारी निकायहरूलगायत मनकारी दाताहरूसंग जोडिदिने एउटा कडीको रुपमा आफूले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा, शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई ।

त्यस्कै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बागमती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैंकिङ संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिहरुसंगको हातेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भूकम्पले भताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तीको रुपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आफैंमा हास्यास्पद छ ।

मैले यसलाई माझी बस्ती र म बीचको भावनात्मक सम्बन्धलाई चुडाल्न खोज्ने कुटिल चालको रुपमा लिएकी छु । माझी बस्तीभित्रका केही व्यक्तिहरूलाई क्यामेरा अगाडि उभ्याएर ‘श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ’ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो ।

५३ घरधुरी भित्र बस्ने ३२२ जना मध्येबाट केही सीमित व्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकी छु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरू खडा गरेर अगुवा युवाहरूलाई हतोत्साहित गर्ने अनि टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने २–४ व्यक्तिहरूलाई छानीछानी अन्तर्वार्ता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरू हुँदैछन्।

यसलाई माझीटोलका अधिकांश व्यक्तिहरूले पनि राम्ररी बुझेका छन् । नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानीय युवाहरूको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरू पनि देखेकी छु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु।

तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारी समेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्ने नै छु ।

हिजो माझी बस्तीले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरू अहिले म तिर फर्किएर प्रश्न गर्दैछन, ‘तैले त्यो बस्तीमा के योगदान गरिस् ?’ मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा व्यक्तिगत रकम ३२ लाख दिएर काम सुचारु गरेकी हँु ।

बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएकी छु ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौं पटक सिहँदरबार धाएकी छु । कैयौं मिटिङ र झण्झटिलो कागजी प्रकृया पश्चात् मात्र माझीटोलमा सहयोगहरू पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरूसंग नडराइ अनी हरेश नखाई जुधेकी छु ।

जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकी छु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरूलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन ।

माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानीय उपभोक्ताहरूको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानीय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्ने हुन्छ ।

बस्ती निर्माण पुर्व नै ८ वटा घरको डिजाईनहरू मध्येबाट हालको डिजाइन रोज्ने स्थानीयवासी नै हुन् । नेपाल सरकारबाट भूकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अति नै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानिय वासीहरूकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको हो ।

घर निर्माणको लागि प्राविधिकहरूले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार थियो । केही दाताहरूले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मूल्य कटाएर ७ लाख मूल्मा बनाउन सकिन्छ भनी अन्तिम लागत मूल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो ।

सरकारी अनुदान बाहेक अन्य नपुग रकम ४ लाख ऋण स्वरुप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्ठानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरूलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।

अतः यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरू सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो ।
घर बाहेकका नयाँ पुर्वाधारहरू जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरूसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमति जुटेकै हो ।

आजका दिनसम्म पनि सोही सहमति अनुसार कार्य भएकै छ । अतः घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही व्यक्तीले अहिले आएर आफुलाई ‘नयाँ घर घाँडो भएको’ भन्नु कती सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी ९एगदष्अि(एचष्खबतभ(एबचतलभचकजष्उ ० मोडालिटी अनुरुप जनताको पनि लगानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिकासको यो मोडल ‘दिगो बिकास’को सफल मोडल पनि हो ।

‘एनजिओहरूले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरिएको हो । ४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मूल्य बढेको नदेख्नु बिडम्बना पूर्ण छ ।

बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन् । त्यसो त, माझीहरुले बोकेको ऋणको भारी तिर्नको लागि ‘होम स्टे’को परिकल्पना गरिएको छ जसले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र ऋण तिर्नको लागि सहजता आउनेछ ।

यसको लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अतः दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कतिको न्यायसंगत होला ?

यतिखेर माझी टोलमा इट्टा र सिमेन्ट जडीत भौतिक पूर्वाधारहरू मात्र बनेका छैनन् । बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानीयवासीहरूले आफुमा आएको मानसिक र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किदैन ।

अतः बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनि कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुने छैन । ‘माझी टोलबाट हात झिकी’ भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु’ जव सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन । ‘मेरो अन्तिम इच्छा ‘म मर्दा मेरो लासको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्यष्टि त्यहीं गरिओस्।’

https://www.facebook.com/shwetakhadkaofficialnp in