बुधबार , कार्तिक ३, २०७८

संसद पुनस्थापना नहुने संंकेत, जताततै सेटिङ्ग, संविधानको घाँटी रेटियो –प्रचण्ड

माघ ३०, २०७७ शुक्रबार 48

संसद पुनस्थापना नहुने संंकेत, जताततै सेटिङ्ग, संविधानको घाँटी रेटियो –प्रचण्ड

काठमाडौं

प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलाशमा चलिरहेको सुनुवाई अब अन्तिम चरणतर्फ पुग्दैछ ।

आइतबार रिट निवेदक १३ जनाले प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि सम्भवत चाँडै अन्तिम किनारा लाग्न सक्छ ।

अहिलेसम्मको संकेतले संसद पुनःस्थापना हुने सम्भावना कम देखिन्छ । वैशाखमा घोषित चुनाव पनि सर्ने सम्भावना बलियो छ ।

नयाँ राजनीतिक अस्थिरताको भुमरीमा देश पर्ने संकेत नेताहरुले देखिसकेका छन् ।

अदालतमा मुद्दा विचाराधीन हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनका विरोधी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु पक्ष विपक्षमा बोलिरहेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा भने ‘जुलुसले निर्णय गर्ने भए अदालत किन चाहियो ?’ भनिरहेका छन् ।

संसद पुनःस्थापनाको पक्षमा सडक संघर्षमा रहेका नेकपा अध्यक्ष प्रचण्डले अदालतलाई थ्रेट दिने भाषामा चेतावनी दिएपछि पुनःस्थापना नहुने संकेतहरु देखिनथालेको हो ।

उनले बुधबारको विरोध सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र संवैधानिक इजलाशका न्यायाधीशहरुतर्फ संकेत गर्दै संसद पुनःस्थापना नभए ‘सजिलो नठान्न’ चेतावनी दिए ।

आन्दोलनको आँधीहुरी ल्याउने देखि १० लाख जनता उतारेर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिए । प्रचण्डले दिएको यो थ्रेटका कारण पनि देश अब मुठभेडतर्फ गएको देखिन्छ ।

सर्वोच्च अदालतले अबको केही हप्तामा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको अन्तिम किनारा लगाउने सम्भावना छ ।

देशको भविष्यलाई नै नयाँ मोड दिने गरी हुने उक्त फैसलाबारे विभिन्न अनुमानहरु भएपछि कतिपयले संविधानको हत्या भइसकेको बताएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ५ पौषमा प्रतिनिधि सभा विघटनको घोषणालगत्तै संविधानको हत्या भइसकेको बताएका थिए ।

उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको मतियार बनेको बोलेका थिए ।

संविधानको हत्या हुनेगरी ओलीले चालेको कदमसँगै अब अदालतको कदम पनि संसद पुनःस्थापनाको पक्षमा जाने सम्भावना कमै देखिन्छ ।

संवैधानिक इजलाशमा सुनुवाईका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बोलीले पनि चुनावतर्फ अगाडि बढ्ने गरी फैसला आउनसक्ने संकेतहरु देखिएको छ ।

अहिले अदालतमा मुद्दा विचाराधीन हुँदा नेपाल कम्युनिस्ट पार्टीका विभाजित दुवै खेमाका नेताहरुले क्रिया प्रतिक्रिया जनाइरहेका छन् ।

अन्य दलका नेताहरुले पनि यो विषय राजनीतिक भन्दै तर्क वितर्क गरिरहेका छन् ।

तर, नेकपाको एउटा समूहका नेता केपी शर्मा ओली र अर्को समूहका नेता प्रचण्डले मुद्दालाई प्रभावित पार्ने गरी बोलिरहेका छन् ।

ओलीले प्रतिनिधि सभा विघटन भइसकेकाले नब्युँतने भन्दै चुनावको तयारीमा लाग्न भनेका छन् ।

उनले निर्वाचन आयोगमा मङ्गलबार पुगेर चुनावी प्रक्रियामा बढ्न भने ।

प्रचण्डले बुधबार विरोध सभामा बोल्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई छिटो फैसला र निर्णय गर्न भने ।

उनले अदालतले संसद विघटनको पक्षमा फैसला गरेमा ‘ठुलो आँधीहुरी आउने ‘भन्दै ‘सजिलो नठान्न’ चेतावनी दिएका छन् ।

अदालतको फैसला प्रचण्डले चाहेभन्दा फरक आउने संकेतका रुपमा यो अभिव्यक्तिलाई बुझिएको छ । उनले फैसला आफूहरुले चाहेको भन्दा भिन्न आएमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले भने,‘जनताको विरुद्धमा फैसला भएमा आँधी आउँछु हुरी आउँछ कसैले थाम्न सक्दैन ।’

प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताए । उनले निर्णय आफूहरुको विपक्षमा आए सजिलो नठान्न पनि चेतावनी दिए ।

प्रचण्डको आजको अभिव्यक्तिले देशमा प्रतिनिधिसभा पुनःस्थापना अदालतबाट नहुने संकेत मिलेको छ । यसले मुठभेडको अवस्थालाई बल पुगेको छ ।

प्रचण्डले सबै सेटिङ अनुसार भइरहेकोले सडक संघर्षविना केही नहुने देखिसकेको बुधबारको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । उनले त्यही अनुसार कार्यकर्तालाई तयार रहन भनिसकेका छन् ।

यसअघि नै शाकाहारी आन्दोलनले नहुने भन्दै आक्रमक बन्न कार्यकर्तालाई निर्देशन गरिसकेका छन् ।

प्रचण्डले १० लाखले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी त्यत्तिकै दिएका हुन् । यसका पछाडि अब मुठभेडको संकेतहरु देखिएको छ ।