समाचार

देशभर १ लाख म्यादीको भर्ना खोल्ने तयारी, यी व्यक्तिलाई प्राथमिकता, तलब कति ?

काठमाडौं

प्रतिनिधिसभा संसद विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ ।

सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करीब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको माग सहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजना लगायतका प्राविधिक विषयमा खाका बनाएको छ ।

यस विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग पनि आवश्यक समन्वयको काम गरिरहेको जनाइएको छ ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करीब १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो हप्ता भर्ना आह्वान हुनेछ ।

‘९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देखि २० गतेसम्ममा सबै प्राविधिक विषयमा टुंगो लगाएपछि भर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले भने ।

प्रवक्ता कुँवरले निर्वाचनको २ महिनाअघिसम्म भर्ना आह्वान गर्दा पनि तालिम दिएर निर्वाचनका लागि तयार गर्न सकिने विगतको अनुभव समेत रहेको बताएका छन् ।

प्रहरीले विगतका निर्वाचनमा म्यादीका लागि भर्ना आह्वान गर्दा भूतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहित अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रुपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८–५४ वर्ष उमेरबीचका व्यक्तिलाई अघिल्लो निर्वाचनमा म्यादी प्रहरी बन्न योग्य मानिएको थियो ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताएका छन् । विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई १ जना बराबर मासिक १७ हजार २३० रुपैयाँ तलब निर्धारण गरिएको थियो । म्यादी प्रहरीलाई तलबबाहेक पोशाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरिएको थियो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा कार्यावधि तोक्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित ३७ जना छन् । सोही समितिलाई नै प्रहरी प्रधान कार्यालयले निर्वाचन सम्बन्धी सबै काम गर्ने अधिकार दिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

Related Articles

Back to top button