मंगलबार , अषोज ५, २०७८

शिक्षकको कथा ; यहाँ त यस्तै हो, हजुर नयाँ भएर

माघ ६, २०७७ मंगलबार 22

शिक्षकको कथा ; यहाँ त यस्तै हो, हजुर नयाँ भएर

वीराम आचार्य /
समसामयिक शैक्षिक मुद्दा र शिक्षण सिकाइमा कलम चलाउँदै आएका आचार्य कहिले काँही साहित्यिक सृजना पनि गर्छन् ।

उनका यस्ता सृजना पनि शिक्षा र शिक्षणमै केन्द्रित हुन्छन् । यस पटक उनले सार्वजनिक शिक्षाको गिर्दो शाखको पछिल्तिरको कारण एक जना शिक्षकको कर्म र मनोदशा मार्फत् खोतल्ने प्रयास गरेका छन् । यो साताको शिक्षा साहित्यमा उनकै कथा :

शंकरलाल शहरमा कलेज पढ्दै थिए । एक दिन गाउँबाट बाको फोन आयो – माष्टरको जागिर खुलेको छ रे, फारम भर्नु है ।

शिक्षक सेवा आयोग खुलेको रहेछ । बा को आज्ञाकारी छोरो, शंकरलालले फारम भरे, बजारका २, ४ वटा गाइड पढे, ट्युशन पनि पढे । लिखित परीक्षा, अन्तर्वार्ता, जिल्लाको सिफारिस हुँदै मध्य नेपालको पहाडी दुर्गम गाँउमा उनको पदस्थापना भयो ।

अब उनी शंकरलालबाट शंकर सर भए ।

पहिलो दिन सदरमुकामबाट जीप चढेर १ दिनको बाटोमा बास बस्न पुगे शंकर सर । अर्को दिन विहानै उठेर ६ घण्टा हिँडेपछि ११ बजेतिर पदस्थापन भएको विद्यालयमा पुगे ।

सिफारिस पत्र पेस गरेर निवेदन लेखेपछि प्रधानाध्यापकले हाजिर वहीमा नाम लेखिदिए र हाजिर गर्ने ठाँउ वताइदिए ।

पहिलो दिनको जागिरमा हाजिर गरेपछि शंकर सरको अनुहार धपक्क बल्यो । धेरै मेहनेत र जाँगर गरेर शिक्षक बनेको नतिजाले हो, अथवा केही नयाँ गर्ने चाहनाले हो ! जे भएपनि उनी भित्रैदेखि गमक्क परेजस्तो देखिए ।

औपचारिक कुराकानी, परिचय भयो । घर कता, जहान परिवार, पढाइ यस्तै विभिन्न कुरामा दिन वित्यो । पहिलो दिन पढाउने कुरा भएन ।

आज साँझ कता बस्ने सर ?

साढे तीन बजे प्रधानाध्यापकको प्रश्नले बल्ल शंकर सरको दिनभरी गमक्क परेको मन खङ्ग्रङ भयो ।

खै सर ! मैले त लगाउने कपडा मात्र लिएर आएको छु, होटल त छैनन् होला, यसो गाँउतिर कसैकोमा बस्ने व्यवस्था भए हुन्थ्यो ।

दुई तीन दिनको लागि यतै नजिकै बस्दै गरौँ अनि लामो समयको लागि खोज्दै गरौला भनेर प्रधानाध्यापकले विद्यालय नजिकै एउटा घरमा खाने वस्ने व्यवस्था मिलाइदिए ।

शंकर सर प्रधानाध्यापकको यस्तो सहयोगबाट प्रभावित भए ।

अर्को दिन विहान ठिक ९ ः ५५ बजे शंकर सर विद्यालय पुगे ।

विद्यालय खुलेकै थिएन । कुनै विद्यार्थी पनि आएका थिएनन् । विद्यालयमा टहलिदै गर्दा १० : १५ मा बल्ल पालेदाइले विद्यालय खोले ।

विद्यार्थी १५, २० जना जति आइपुगेका थिए । शंकर सरले पाले दाइलाई सोधे – दाइ किन यति ढिला गर्नु भएको ? विद्यार्थी पनि आएका छैनन् त ?
सर, हजुर नयाँ भएर ।

स्कुल खुल्ने बेला भर्खर त हुँदैछ, खै केटाकेटी आएका छैनन्, सरहरु पनि आउनु भएको छैन । ११ बजेसम्म सबै आइपुग्नु हुन्छ ।

पाले दाइले भने अनुसार ११ बजेसम्म सबै शिक्षक विद्यार्थी आइपुगे । विद्यालयको नियमति गतिविधि शुरु भयो ।

शंकर सरको पढाउने रुटिन पनि तयार भयो । शंकर सरलाई दिनभर खस खस लागिरह्यो ।

दिउँसो पनि ३ : ३० तिरै विद्यालय विदा भयो । अरु सबैजना हाइ हेलो गर्दै आ आफ्नो बाटो लागेपछि ढोका बन्द गर्दै गरेका पालेदाइलाई शंकर सरले फेरी सोधे, दाइ किन यति चाडै विदा भएको ?
यहाँ त सधै यस्तै त हो, हजुर नयाँ भएर ।

अर्को दिन सँधै जस्तै ११ बजेबाट नियमितता शुरु भयो । पहिलो घण्टी शंकर सरको हाजिर गर्ने पालो । कक्षामा गएर हाजिर लिदै गर्दा रजिष्ट्ररका आधा विद्यार्थी पनि नआएका !

आउनेहरुको पनि एकदमै धेरै अनियमितता । कक्षामा सामान्य परिचय, पाठको अवस्था लगायतका केही पढाइका कुरा भए, घण्टी सकियो ।

दिँउसोको खाजा समयमा अर्का एक शिक्षकसँग हाजिर गर्दाको अवस्थाका वारेमा जिज्ञासा राखे शंकर सरले ।
यहाँ यस्तै हो सर, आउदैनन् त के गर्ने !

आएकालाई पढाउने त हो । हजुर नयाँ भएर अनौठो लाग्यो होला, विस्तारै वानी लाग्छ ।

दिन वित्दै गए । शंकर सरले जति पनि जिज्ञासा राखे, सबै प्रश्नको उत्तर यहाँ यस्तै हो, हजुर नयाँ भएर भन्ने बाहेक अरु जवाफ मिलेन ।

समय वित्दै जाँदा त्रैमासिक परीक्षाका लागि स्रोत केन्द्रबाट परीक्षा तालिका विद्यालयमा आयो, प्रश्न स्रोतकेन्द्रबाट ल्याउने कुरा भयो । विद्यालयमा परीक्षाको तयारी विदा हुने भयो ।

त्रैमासिक परीक्षा निमार्णात्मक हुने हुँदा औपचारिक हुँदैन, शिक्षकले आफ्नो विषयमा आफ्नो इच्छा अनुसार र विद्यालयले पनि आफ्नो अनुकूलमा परीक्षा लिन सक्छ भनेर कलेजमा शंकर सरले पढेको कुरा मिलेन ।
यो जिज्ञासा शंकर सरले प्रधानाध्यापकसँग राखे ।

प्रधानाध्यापकको जवाफ पनि उस्तै थियो, हजुर नयाँ भएर । यो त यसरी नै गर्ने हो, पढेका कुरा कहाँ मिल्छन् र ! जिल्लाभरी सबैमा यस्तै हुन्छ सर ।

शंकर सरले ऐन, नियमावली, नीति, निर्देशिका सबै कण्ठ पारेर परीक्षा पास गरेका थिए । विद्यालयका सबै जसो कुरा ज्ञानभन्दा विपरित वा नमिल्दा हुन्थे र जिज्ञासा राख्थे ।

सबैको तयारी उत्तर हुन्थ्यो, यहाँ यस्तै हो, हजुर नयाँ भएर !

निरन्तर विद्यार्थी मूल्याङ्कनका कुरा हुन्, पाठ्यभार अनुसारको कार्यतालिकाका कुरा हुन्, निर्माणात्मक भनिएका त्रैमासिक परीक्षाका कुरा हुन्, वार्षिक परीक्षाका मर्यादाका कुरा हुन्, विद्यालय खुल्ने र बन्द हुने कुरा हुन् वा २, ४ दिन अनुपस्थित भएर हाजिर लगाउने कुरा नै किन नहुन् !

कक्षा ८ का विद्यार्थी गणितमा निकै कमजोर भएको र उनीहरुले कक्षा ५ का लागि तोकिए वराबरका गणितका विषयवस्तु नजानेको कुराले शंकर सरलाई पिरोलिरहेको थियो । एकदिन अफिस कक्षमा यो कुरा सुनाए ।
सर किन चिन्ता लिनुहुन्छ, सबै विषयमा त्यस्तै हो । जिल्लास्तरीय परीक्षामा सबै पास भइहाल्छन् अनि यहाँबाट अर्को माविमा जान्छन् ।

हुन त शंकर सरका अघिल्तिर अर्को पनि बाटो थियो ।

तर, हिजो आज उनी आफू पछि विद्यालयमा आएका शिक्षकका अघिल्तिर त्यही भनिरहेका भेटिन्छन् – यहाँ त यस्तै हो, हजुर नयाँ भएर