Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

तिहारकाे भिडमा के हाेला काेराेना

भक्तपुर, २८ कार्तिक । विगतका वर्षहरुजस्तै तिहारको लागि लाग्ने बजार यो वर्ष पनि महामारीबी उस्तै भीडभाडमय देखिन्छ । भक्तपुरको तःमारी चोकमा आज बिहानदेखि भीडभाड देखिएको छ । तिहारको समयमा तःमारी चोकमा भाइटीकाको दिनसम्म यस्तै बजार लाग्ने गर्छ । कोरोना महामारीको समयमा पनि न व्यापारीलाई सामाजिक दुरी र स्वास्थ्य मापदण्डको मतलब छ, न त उपभोक्तालाई नै ।

तिहारकै लागि व्यापार गर्न  उपत्यका बाहिरबाट आएका व्यापारीहरू बिनामास्क व्यापार गरिरहेका छन् । उपभोक्तहरु पनि बिनामास्क र सामाजिक दुरिको मतलब नै नगरी भीडभाडमा किनमेल गरिरहेका छन् ।

नगरपालिकाका कर्मचारी गाडीमा माईकिङ गरिरहेका छन् । उपभोक्ता र ब्यापारीहरु सबैले भने बेवास्ता गरिरहेका छन् । ‘यस्तो अवस्थामा भोलिको दिनमा भक्तपुरमा महामारीले उग्र रूप लिएमा जिमेवार को हुने ? स्थानीय आफै सचेत हुनु पर्ने हो तर त्यस्तो भइदिएन,’ स्थानीय सुनिल चित्रकारले चिन्त व्यक्त गरे ।

हिजोका दिनमा कोरोना भाइरसको संक्रमण रोक्न भनेर सबै जात्रा र पर्वहरु रोक्न सफल स्थानीय सरकार (नगरपालिका र स्थानिय प्रसाशन) यो पटक चुकेको देखिन्छ । यति धेरै भीड भएको ठाउँमा न त प्रहरी नै देखिएका छन् न त नगरपालिकाका कर्मचारी एवं स्वयम सेवकहरु नै ? विगतका दिनहरुमा भने मास्क, पञ्जा वितरण गरिहिड्ने स्थानीय टौमढी युथ क्लबका प्रतिनिधिहरु पनि देखिएन् ।