Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

बिवादका बिच आज नेकपाकाे सचिवालय बैठक बस्दै

काठमाडौं, २८ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा साे बैठक बस्न लागेको हाे ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गर्नुभएकाे हाे ।

यसअघि नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए । तर प्रधानमन्त्री ओली पक्षका नेताहरू अल्पमतमा परिने देखेर बैठक बाेलाउन हिचकिचाइरहेका थिए ।

यही कार्तिक २२ मा सचिवालयका बहुमत सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई लिखित रूपमै आग्रह गर्दा उहाँले अस्वीकार गर्नुभएकाे थियाे । त्यसपछि अर्का अध्यक्ष दाहालले सचिवालयकाे अनाैपचारिक बैठक बाेलाएर प्रधानमन्त्री ओलीलाई भेटेरै अाैपचारिक बैठकका लागि पुनः आग्रह गर्दा पनि ओलीले अस्वीकार गर्नुभएकाे थियाे । तर पछि भने उहाँ संखुवासभा भ्रमणमा गएर फर्किनुभएपछि बैठकका लागि राजी हुनुभएकाे बताइएकाे छ ।