Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

पार्टि एकताका पक्षमा एक भएर लागाै – प्रवक्ता नारायण काजि श्रेष्ट

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका लागि सक्रिय पहल गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सोसल मिडिया फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले एकताको रक्षाका लागि आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको हो । यसका साथै उहाँले नियमित पार्टी बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्नका लागि पनि आग्रह
गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन ।’
यसका साथै, उहाँले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशविरुद्ध हुने पनि सुझाउनुभएको छ । उहाँले थप भन्नुभएको छ, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।’

त्यस्तै, उहाँले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भएपनि अहिले नै त्यस विषयमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद नदेखिएको पनि बताउनुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यन्वयन । ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन ।’

त्यस्तै, उहाँले देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।’