Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

के हाे रेड मर्करि किन खाेजि हुदैछ नेपालमा

पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ ।

विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा पुगेर पुराना रेडियो-टिभी महँगो दाममा किन्ने भन्दै हिँडेका छन् । कम्तिमा ५ लाखदेखि ५० लाख रूपैयाँसम्म मूल्य पाइने भनिएपछि केही व्यक्तिहरू यसको खोजीमा गाउँघरतिरसम्म पसेका छन् भने केहीले सामाजिक सञ्जालमा विज्ञापनसमेत हालेका छन् ।

केही दिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् ।

“पुरानो टिभी रेडियोमा रेड मर्करी हुन्छ जुन एक ग्रामको करोडौँ रुपैयाँ आउँछ । युट्युबमा हेर्नुहोला,” मयुर श्रेष्ठ नाम गरेका फेसबुक प्रयोगकर्ताले रातो झोल पदार्थ भएको एउटा सानो सिलिन्डरको तस्बिरसहित सो सामग्री भए सम्पर्क गर्न भनेका छन् ।

एउटा ट्वीटर थ्रेडमा प्रतिक्रिया जनाउँदै सदिक्षा कार्कीले लेखेकी छन्, “फिलिप्स कम्पनी आफैले खोजेको रैछ । रेडियोमा प्रयोग भएको यो सामान दुर्लभ भएकाले जर्मनीदेखि पठाएर नेपाल र भारतमा यसको खोजीकार्य व्यापक गरिएको छ । कोहीसँग भए जानकारी पाउँ ।”

त्यस्ता फेसबुक पोष्टमा अधिकांशले आफूसँग उक्त सामग्री भएको प्रतिक्रिया जनाएका छन् भने स्टाटस शेयर गर्ने प्रयोगकर्ताले सम्पर्क गर्न भनेका छन् ।

रेड मर्करी के हो ?

सामाजिक सञ्जालमा शेयर गरिएका रेड मर्करी सम्बन्धी पाेष्ट
रेड मर्करी सामाजिक सञ्जालमा दाबी गरिएजस्तो कुनै बहुमुल्य वस्तु नभई दशकौँदेखि फैलाइएको भ्रामक सूचना भएको पाइएको छ । यसको अस्तित्व बारेमा यकिन नभए पनि यो दशकौदेखि (खासगरी शीतयुद्ध यता) एक रहस्यमय पदार्थको रुपमा रहिआएको छ ।

सन् २०१९ मा बिबिसीमा प्रकाशित एक लेखमा सामाजिक संजाल र वेबसाइटमा यसको व्यापक माग भएको भन्दै विज्ञापन गरिएको उल्लेख छ । न्युयोर्क टाइम्स म्यागेजिनमा युद्ध संवाददाता सिजे चिभर्सको ‘द डुम्सडे स्क्याम’ शीर्षक लामो लेख प्रकाशित छ । उक्त लेखमा इस्लाम उग्रवादी आइसिसले समेत यसको खोजी गरेको विवरण छ ।

यी लेखहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, यस अप्रमाणित पदार्थलाई विभिन्न देशमा ठगहरुले सर्वसाधारणलाई ठग्नका लागि प्रयोग गरेका छन् । सन् २००७ मा चार जना वैज्ञनिकले गरेको रेड मर्करी सम्बन्धी अनुसन्धान साइन्स डाइरेक्ट नामक जर्नलमा ‘एनालिसिस अफ एन अब्जेक्ट एज्युम्ड टु कन्टेन रेड मर्करी’ शीर्षकमा प्रकाशित भएको थियो । उक्त शोधको निष्कर्षमा पनि प्राप्त नमुनामा रेड मर्करी भन्ने पदार्थ नपाइएको जनाइएको थियो ।

बेलायतस्थित एसआरएम नामक जोखिम मुल्यांकन र गुप्त सूचनाको क्षेत्रमा कार्यरत संस्थाका अनुसार अमेरिकी भौतिकशास्त्री स्यामुअल कोहेनजस्ता केहीले यसको अस्तित्व दाबी गरेपनि यसको चर्चा षड्यन्त्र सिद्धान्त फैलाउनेहरु माझ मात्र सीमित रहेको छ । नेपालीमा पारो भनिने मर्करी आणविक हतियार बनाउन प्रयोग हुने पदार्थ हो । लेदोजस्तो यो पदार्थले ठूलो मात्रामा ताप धान्न सक्छ । औषधोपचारका लागि पनि यसको प्रयोग गरिन्छ ।

गत सेप्टेम्बर महिनादेखि भारतमा यसबारे भ्रामक सूचना फैलिएको थियो । हिन्दी भाषामा सामाजिक सञ्जाल र युट्युबमा यसबारे विभिन्न सामग्री प्रकाशित गर्दै यसको मुल्य लाखौं पर्ने दाबी गरिएको थियो । भारतको फ्याक्टली नामक तथ्य जाँच गर्ने वेबसाइटले उक्त अफवाहको तथ्य जाँच गरेकाे छ ।

नेपालमा ‘नेपाली पुरानो पैसा’ नामक ५७ हजारभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक ग्रुपमा यसबारे चर्चा गरिएको छ । पुराना सिक्का र नोटबारे पोष्ट शेयर गरिने उक्त फेसबुक ग्रुपमा रेड मर्करी भन्दै सानो बोतलमा रातो झोल भएको तस्बिर शेयर गरिएको छ । विभिन्न प्रयोगकर्ताले आफूसँग त्यो भएको वा किन्न इच्छुक भएको बताएका छन् ।

“रेड मर्करी नामक कुनै रसायन वा पदार्थ अस्तित्वमा छैन,” काठमाडौ इन्स्टिच्युट अफ एप्लाइड साइन्ससँग आबद्ध वैज्ञानिक बसन्त गिरीले साउथ एसिया चेकलाई बताए । “त्यो रातो रंगको तरल पदार्थ रेड डाई वा मर्करीको कुनै कम्पाउण्ड हुनसक्छ । तर यसको कुनै विशेष मुल्य छैन । बरु मर्करी मिसिएको पदार्थ विषालु हुनसक्छ ।”

उनले थपे, “पुराना रेडियो वा टिभी जस्ता विद्युतीय सामानमा लिड (शिशा) जस्ता भारी सामग्री हुनसक्छन् । त्यस्ता विषालु सामग्रीलाई रिसाइकल गर्न सकिन्छ । तर ती बहुमुल्य होइनन्